काठमाडौँ - इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले बलियो प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ४–० गोलले हरायो । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक एक गोल गरे।
एकपक्षीय खेलमा लिभरपुलले पाँचौँ मिनेटमा गोलको खाता खोलेको थियो । लुइस डियाजले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउए। २२औँ मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुई गोल थपेको लिभरपुलका लागि मानेले ६८औँ र सलाहले ८५औँ मिनेटमा गोल गरेका थिए।
यस जितसँगै लिभरपुलले लिग जित्ने सम्भावना बलियो बनाएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंक सहित दोस्रो स्थानमा छ । हारसँगै ५४ अंक बनाएको युनाइटेड छैटौँ स्थानमा छ । एजेन्सी