मंसिर ११ गते २०८३ || November 26, 2026

लुम्बिनीका तीन जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी अभियान चलाइने घोसणा


मंगलबार, फागुन २४ २०७८०९:४१

लुम्बिनीका तीन जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी अभियान चलाइने घोसणा

दाङ - लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान पुनः सुरु हुने भएको छ । दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ ।

यी जिल्लामा सरकारले फागुन २८ गतेदेखि औषधी सेवन अभियान सुरु गर्न लागेको हो । स्वास्थ्य कार्यालय दाङले ११ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान संचालन गर्दै आएको छ । बाँके र कपिलवस्तुमा अझै पनि जोखिममा परेकाले बाह्रौँ पटक आम औषधी सेवन अभियान संचालन गर्नुपरेको कार्यालयको भनाइ छ । कार्यालयका प्रमुुख अंगदबहादुर शाहीले नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको बताए ।

यस पटकबाट मानिसको उचाई अनुसार औषधी सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन हुने उनले बताए । टीईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुपरे पनि यो पटकबाट आईभर मेक्टिन नामक औषधी थप गरिएको उनले बताए । सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मूलन गर्न नियमित रूपमा आम औषधी सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको उनले बताए ।

दाङको शहरी क्षेत्रमा पर्ने पालिकाहरू तुलसीपुर र घोराही बढी जोखिममा छन् । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ । यसपटक पनि दाङमा सिसहनियामा ३१४ जनामा परीक्षण गर्दा १५ जनामा तथा घोराहीको रामपुरमा ३३० जनामा परीक्षण गर्दा ११ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तिमा २ प्रतिशतभन्दा कम गर्नु पर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।

नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले दाङ, कपिलवस्तु, बाँके, कैलालीलगायतका जिल्लामा यस अघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सक्रमण यथावत् रहेको जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # हात्तीपाइले
  • # लुम्बिनी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend