काठमाडौं - पूर्वको लाइन पश्चिममा लैजान महत्वपूर्ण मानिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको काम पुनः सुरु हुने भएको छ । यस खण्डमा दुई वटा टावर राख्न नदिने अघिल्लो अन्तरिम आदेशलाई सर्वाेच्च अदालतले निरन्तरता नदिई रिट नै खारेज गरेपछि काम सुरु हुने भएको हो ।
सर्वाेच्चको असार १२ गते आइतबारको फैसलापछि नवलपरासीको दुम्कीवासस्थित दुई वटा टावर खडा गर्न नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार अदालको यो फैसलापछि उक्त क्षेत्रमा टावर राख्न सहजता भएको हो ।
‘सर्वोच्च अदालतको फैसलापछि अव टावर राख्ने काम अघि बढाउन सहजता भएको छ । अब प्रकृया अघि बढेको छ । स्थानीयलाई क्षतिपूर्तिको व्यवस्था गरेर नै हामी टावर राख्छौँ,’ उनले भने,। टावर राख्ने काम पनि सरकारको नियम, कानून अनुसार नै गर्नुपर्ने भएकाले केही दिन लाग्ने भट्टराइले बताए । ‘दुईवटा टावर राख्ने काम सरकारको नियम कानून अनुसार नै गर्नुपर्ने भएकाले क्षतिपूर्तिको व्यवस्था गर्न केही दिन लाग्न सक्छ । यसको व्यवस्था पछि तत्काल टावर राखिने छ,’ उनले भने ।
कूल २४४ वटा टावरमध्ये २४२ वटा टावरहरु निर्माण सम्पन्न भइसकेका थिए । यी दुई टावर निर्माण हुन नसक्दा आयोजना सम्पन्न हुन सकेको छैन । प्रसारण लाइनको विवादित उक्त क्षेत्र विनय त्रिवेणी गाउँपालिका वडा नं २ मा पर्दछ । सर्वोच्चको फैसला बमोजिम उचित क्षतिपूर्ति पाए मात्र टावर राख्न दिने स्थानीयलाई उद्दत गर्दै गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए ।
‘सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ । फैसला बमोजिम स्थानीयले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । उचित क्षतिपूर्ति पाएपछि उक्त क्षेत्रमा दुई वटा टावर राख्ने काम हुने स्थानीयको भनाइ छ, ‘उहाँले भन्नुभयो । उक्त प्रशारण लाइन गाउँमाथि नै पर्ने भएकाले स्थानीयले विरोध गरेको अर्यालले बताए ।
लाइनको मार्ग गाउँमाथि नै पर्ने भएपछि स्थानीयले नेपाल विद्युत प्राधिकरणलाई अर्को बाटो प्रयोग गर्न आग्रह गरेका थिए । तर, प्राधिकरणले यहि नै उपयुक्त बाटो भएको जनाएपछि यो विषय सिर्वोच्चमा पुगेको थियो ।
स्थानीय वासिन्दाले करिब डेढ वर्षअघि सर्वाेच्च अदालतमा उक्त टावर राख्न नदिन रिट निवेदन दिएका थिए । सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश पुरुषोत्तम भण्डारीले २०७७ चैत २५ गते अन्तरिम आदेश जारी गर्दै हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन अन्तर्गत नवलपरासीको दुम्कीवासस्थित दुईवटा टावर निर्माण कार्यमा रोक लगाएका थिए।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्चको आजको फैसलापछि प्राधिकरणलाई प्रसारण लाइन निर्माणमा सहजत भएको छ ।
गत जेठ ३१ गते न्यायाधीशद्वय सुष्मलता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले यही मुद्दामा कागजात झिकाउने आदेश दिएको थियो । यो प्रसारण लाइन निर्माणका क्रममा टावर नं. जीआई ९८ र जीआई ९९ पर्ने मार्गाधिकार (राइट अफ वे) सार्नुपर्ने माग राख्दै स्थानीय वासिन्दाले अवरोध गरेका थिए ।
यही प्रसारण लाइन नभएका कारण विद्युत प्राधिकरणले २०७७ र २०७८ सालको वर्षायामको जगेडा बिजुली पूरै खेर फाल्नुपरेको थियो । २०७७ सालमा पाँच सय मेगावाट र २०७८ सालमा ६ मेगावाट बिजुली खेर गएको थियो ।