विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कप खेल्नका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।
वसन्तराज गुरुङको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय वायुसेना निगमको जहाजमार्फत भारत प्रस्थान गरेको हो । टोलीलाई बलाधिकृत रथी सरोज प्रताप राणाले जङ्गी अड्डामा एक कार्यक्रमका बीच बिदाइ गरेका छन् ।
डुरान्ड कपको १३२औँ संस्करणमा त्रिभुवन आर्मी सहित २४ टोलीको सहभागिता रहनेछ । नेपाली टोलीले पहिलो पटक अवसर पाएको हो । आर्मीले अगस्ट ९ मा दिल्ली एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी आर्मीले १४ अगस्ट १४ मा चेन्नाई एफसी र अगस्ट २२ मा हैदराबाद एफसीको सामना गर्नेछ ।
भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने प्रतियोगितामा विदेश टोलीका रूपमा त्रिभुवन आर्मीसँगै बङ्गलादेश आर्मीले सहभागिता जनाउँदै छ । प्रतियोगितामा २७ वर्षपछि विदेशी टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेताले क्वार्टर फाइनलमा स्थान बनाउनेछन् । समूह ‘ए’, ‘बी’ र ‘सी’ का खेलहरू कोलकातामा हुनेछन् । प्रतियोगिताको फाइनल पनि कोलकाताकै पवित्र विवेकानन्द युवा भारती क्रिरांगन रङ्गशालामा हुनेछ ।
समूह ‘डी’ र समूह ‘इ’ का २ बाहेक अन्य खेल गुवाहाटीको इन्दिरा गान्धी रङ्गशालामा खेलाइने छ । कोक्राझारको साई सेन्टर रङ्गशालामा समूह ‘इ’ का २, समूह ‘एफ’ का खेल र १ क्वार्टरफाइनल गरी ९ खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख भारतीय रुपियाँ (भारु) प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा गेल्डेन बल, बुट र ग्लोभ जित्नेलाई जनही ३ लाख भारु प्रदान गरिने छ ।