मंसिर ११ गते २०८३ || November 26, 2026

महसुल नबुझाउने ग्राहक कालो सूचीमा


सोमबार, भदौ ४ २०८००१:२६

महसुल नबुझाउने ग्राहक कालो सूचीमा

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् । 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका अनुसार अहिले पनि कालो सूचीमा रहेकाहरुबाट दुई करोड ६० लाख ८८ हजार ४८ रुपियाँ उठाउन बाँकी छ । 

५१ करोड ८६ लाख बराबरको विद्युत विक्री भएकोमा त्यसवापत ४७ करोड ५२ लाख रुपियाँ असुली भएको छ भने ४ करोड ३४ लाख रकम उठाउन बाँकी छ । विद्युत चोरीमा संलग्न रहेका दुई सय ६६ जनालाई पक्राउ गरिनुको साथै ३६५ वटा विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाउँदा ३० लाख १९ हजार ८ सय ३१ रुपियाँ जरिवाना असुली गरिएको छ । उनीहरुले दुई लाख ४१ हजार युनिट विद्युत चोरी गरेको थियो । 

यसैगरी, सात करोड ४३ लाख ७१ हजार १३८ रुपियाँ विद्युत महसुल बाँकी राखेका एक हजार ११४ जना ग्राहकको लाइन काटिएपछि ८७३ जनाले तीन करोड ६० लाख १३ हजार ६९५ रुपियाँ तिरेर पुनः विद्युत जडान गराएको कार्यालयका सूचना अधिकारी एवमु लेखापाल राजिव कुमार साहले जानकारी दिनुभयो । गर्मी बढेसँगै विद्युत खपत बढेको छ, साथै विद्युत चोरी पनि बढेको छ । विद्युतीय भार बढेको कारण ६४ वटा ट्रान्सफर्मर जलेको छ, गतवर्ष ५३ वटा जलेको प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend