नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।
यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए । गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन,कप्तान रोहित पौडेलले एक छक्का र तीन चौकाको सहयोगमा ३५ रन बनाए । यूएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक/एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । अलिसन सफारुले १६ रन,आसिफ खानले १३ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । नेपालका लागि कुशल मल्लले तीन ,सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एक एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।