‘सुरुमा त्यो गोली दाइलाई लागेर सटरमा छड्के गरी ठोक्कियो र फर्किएर बहिनीको खुट्टामा लाग्यो । बहिनी त्यहीँ ढलिन्,’ मीनभवनस्थित सिभिल अस्पतालमा बहिनी रेबिका खत्रीको कुरुवा बसिरहेकी अनिता भन्छिन् ।
२२ वर्षीया रेबिका ६ दिनदेखि अस्पतालको बेडमा ढलिरहेकी छन् । भेन्टिलेटर र आईसीयू हुँदै यतिबेला उनलाई एनआईसीयू बेडमा सारिएको छ । उनको खुट्टामा छ, राजावादी प्रदर्शनकारीको ज्यादतीको निसान । दाहिने खुट्टाको तलदेखि माथिसम्म मुख्य नसा छिनिएको छ । देब्रे खुट्टा तलदेखि माथिसम्म टाँका लगाएर सिलाइएको छ । यो ६ दिनमा उनको शरीरबाट कति रगत बग्यो ? त्यसको लेखाजोखा छैन । चिकित्सकले चढाएको अन्य व्यक्तिहरूको ३० पाउन्ड रगत उनको शरीरमा बगिरहेको छ ।
उदयपुरको चौदण्डीगढी–६ की रेबिका तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा पढिरहेकी थिइन् । ललितपुरको ग्वार्कोमा बहिनी अनितासँग बस्थिन् । खाजा खर्च जुटाउन र अध्ययनमा पनि सहयोग पुग्ने ठानेर नरेफाँटको एक ग्रोसरी पसलमा एकाउन्टेन्टको रूपमा काम गरिरहेकी थिइन्।
सदा झैँ (चैत १५ गते) पनि उनी बिहानै कामको सिलसिलामा काममा गइन् । दिनभरि काम गरिन् । साँझ ४ बजेतिर कामबाट निस्किइन् ।
यता त्यो दिन राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा प्रदर्शन गरिरहेको थियो । आन्दोलनका कमान्डर दुर्गा प्रसाईले आफू चढेको गाडी सुरक्षाकर्मीमाथि हुत्याएपछि प्रदर्शनले हिंसामा बदलिएको थियो । उनी चढेको गाडी प्रहरीले नियन्त्रणमा लिए पनि निषेधित क्षेत्रबाटै प्रसाईलाई पक्राउ नगरी प्रहरीले कार्यक्रमस्थलतर्फ जान दिएको थियो
।
दर्शनस्थलमा पुगेर प्रसाईँले आफू भएको आश्वासन दिँदै भिडलाई भड्काएपछि उत्तेजित भिडले चारैतर्फबाट सुरक्षाकर्मीमाथि आक्रमण गरिरहेको थियो । प्रदर्शनकारी तीनकुनेबाट निषेधित क्षेत्र तोड्न सुरक्षाकर्मीमाथि चारैतिरबाट ढुंगामुढा र चिसोका काँचका बोतल बर्सारहेका थिए भने सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा हुँदै गोली चलाउन सुरु गरिसकेको थियो । तीनकुनेमा निजी घर र कार्यालयमा आगजनी भइरहेको थियो । आगो निभाउन हिँडेको दमकलमाथि समेत प्रहार भइरहेको थियो । तितरबितर भिडले कोटेश्वर भाटभटेनीमा लुटपाट मच्चाउन सुरु गरिसकेको थियो । सो दिन प्रहरीले ६० राउन्ड गोली, ७४६ थान अश्रुग्यास प्रहार गरेको थियो ।
तीनकुने–बालकुमारी क्षेत्रमा भइरहेको त्यो हिंसात्मक झडपबारे अनविज्ञ रेबिकाले अफिसबाट निस्किएपछि नरेफाँट क्षेत्रमा प्रदर्शनकारीले जलाएका लस्करै गाडी देखिन् ।
आत्तिएर उनले कोटेश्वर बस्ने दाइ दिनेश (माहिला बुवाका छोरा)लाई फोन गरिन् । आफूलाई लिन आउन बताइन् । दिदी अनिता भन्छिन्, ‘त्यो दिन दिदीले सडकको अवस्था देखाएर दाइकैमा जाने बताउनुभयो । म लगनखेल थिएँ ।’
आफन्तका अनुसार त्यसपछि बहिनीलाई लिन दिनेश आए । आफू कोटेश्वर आकाशे पुलबाट आइरहेकाले सुरक्षित स्थानमा बस्न भने । उनी भाटभटेनीभन्दा ठीकविपरीत दिशातर्फ एसओएस मार्ग नजिक बसिन् । त्यसवेला पारिपट्टि भाटभटेनीमा लुटपाट चलिरहेको थियो । दिनेश आए । बहिनीको हात समातेर कोठातिर जाने क्रममा एसओएस मार्गको टर्निङमा प्रहरीले चलाएको गोली हुर्रिएर त्यहीँ आइपुग्यो । सुरुमा त्यो गोली दाइलाई लागेर अगाडिको सटरमा छड्के परी ठोक्किएर फर्किइ रेबिकाको तिघ्रामा लाग्यो ।
दिनेशले आफूलाई गोलीले छोएको पत्तै पाएनन् । त्यहाँ थप गोलाबारी हुने ठानेर रेबिकालाई घिसार्दै परसम्म लगे । सहयोगको लागि गुहार मागे । सँगै एक अर्की युवती पनि सहयोगका लागि चिच्चाइरहिन् । तर कोही पनि नआएको दाइ दिनेशलाई उद्धृत गर्दै अनिताले बताइन् । ‘बहिनी त्यहीँ ढलिन् । खुट्टाबाट रगतको फोहोरा बलिरहेको थियो । दाइले घिसारेर परसम्म लगेर गुहार माग्नुभयो । अर्की एक केटीले पनि सहयोग गरिदिन आग्रह गरिन् । तर कोही आएनन् ।’
भिडमा उभिएर मानिसहरू भिडियो र टिकटक बनाइरहेका तर नजिकै क्लिनिकसम्म पुगाउन कसैले सहयोग नगरेको उनको गुनासो छ ।
प्रदर्शनसँग कुनै सरोकार नै नभएकी रेबिकाको जिम्मा यतिवेला राज्यले लिइरहेको छैन । राज्यले प्रदर्शनकारीकै सूचीको संख्यामा उनलाई पनि राखेको छ ।