पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरको वायु प्रदूषणको मात्रा निकै खराब स्तरमा पुगेको छ । बिशेष गरी काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको छ । वायु प्रदूषण विज्ञहरूका अनुसार अझै एक हप्ता प्रदूषणमा सुधार नहुने देखिएको छ।
सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ । काठमाडौंको एयर क्यालिटी इनडेक्स २०० भन्दा माथि छ।
वायु प्रदूषणले विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्मा बताउँछन् । ‘मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृदयघात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा प्रदूषण बढी हुने भएकाले विशेषगरी मुटुरोग भएकाहरू घरबाहिर निस्कँदा ख्याल गर्नुपर्छ, आवश्यक पर्दा मात्र निस्किनुपर्छ । माक्सको प्रयोग गर्नुपर्छ ।’ प्रदूषण अझै केहि दिन यस्तै रहने भएकाले स्वास्थ्य सतर्कता अपनाउन विग्यहरुले सुझाव दिएका छन्।