नेपालको राजधानी काठमाडौँमा ठुलो बाढी आएको भन्दै भारतमा एआई निर्मित भिडिओ भाइरल भएको पाइएको छ । ‘चीमा दीप’ नामक एक फेसबुक अकाउन्टबाट राखिएको उक्त भिडिओ भारतमा भाइरल बनेको हो ।
१३ अगस्टमा अपलोड गरिएको उक्त फेसबुक रिलमा ६८ लाखभन्दा बढी भ्युज छ । उक्त रिलको क्याप्सनमा हिन्दीमा लेखिएको छ, “नेपाल के पास ही में काठमांडू शहर में भारी बारिश के कारण पूरा पहाड़ का भूस्खलन शहर में आ गया ।” यसको नेपाली अर्थ हो, “नेपालको राजधानी काठमाडौँमा अविरल वर्षाका कारण पहाडै खसेर पहिरो बस्तीमा पसेको छ ।”
त्यस्तै भिडिओमा भएको टेक्स्ट ओभरलेमा ‘नेपाल के काठमांडू शहर में भारी तबाही’ लेखिएको छ ।
फेसबुकमा ‘Vindu Chauhan’ नामको अकाउन्टले पनि यही भिडिओ राखेको छ । तर, उक्त भिडिओमा चाहिँ नेपालको भनेर उल्लेख छैन । भिडिओको ह्यासट्यागमा #Mandiflood #Himachalpradesh राखिएको छ । उक्त भिडिओमा ६५०० भन्दा बढी रियाक्सन, २९ कमेन्ट आएका छन् भने ६४६ पटक शेयर भएको छ ।
‘Im sunil broken’ नामक युट्युब च्यानलमा पनि यो भिडिओ राखिएको छ । त्यसमा पनि नेपालको नाम उल्लेख गरिएको छैन । सो भिडिओमा झन्डै ४० हजार भ्युज आएको छ ।
इन्स्टाग्राम र युट्युब शर्ट्समा पनि यो भिडिओ भाइरल बनिरहेको छ । तीन दिनअघि ‘Sangeeta121992_official’ युजरनेम भएको अकाउन्टबाट यो भिडिओ पोस्ट गर्दै त्यसलाई १६ जुन २०२५ मा आएको बाढीको भनी दाबी गरिएको छ ।
‘याकुप सुब्बा भ्लग्स’ नामक नेपाली पेजले पनि यही भिडिओ राखेको छ । त्यसमा भने ‘कुन सहर होला यो ?’ भन्दै इङ्गेजमेन्ट बढाउन खोजिएको देखिन्छ । सो भिडिओमा ४५०० भन्दा बढी रियाक्सन, ७९ कमेन्ट र छ लाखभन्दा बढी भ्युज आएको छ ।
यी विभिन्न भिडिओलाई केही भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले वास्तविक नै ठानेका छन् । केहीले भने यो एआई-निर्मित भिडिओ हो भन्दै भ्रममा नपर्न सुझाव दिएका छन् ।
टेकपानाले परीक्षण गर्ने क्रममा यस्ता सयौँ भिडिओ फेसबुक, इन्स्टाग्राम र युट्युबमा राखिएको पाइयो । काठमाडौँमा पहाडै खसेर सहर नै बगाउने बाढी आएकै छैन । भिडिओलाई ध्यान दिएर हेर्ने हो भने तलपट्टि ‘AI-generated content’ लेखिएको छ । त्यसमा पहिरो आइरहेको देखिने तरिका पनि अस्वाभाविक छ । ‘हाइभ मोडरेसन’ नामक टुलमा यो भिडिओ जाँच गर्दा एआई-निर्मित भिडिओ भएको देखियो । यी विभिन्न पक्षबाट यो एआई-निर्मित भिडिओ भएको पुष्टि हुन्छ ।