सशस्त्र प्रहरी बलले प्रहरी उपरीक्षक (एसपी) सहित १६ जनालाई जिम्मेवारीबाट हटाइएको छ।
राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक १६ जनालाई जिम्मेवारीमुक्त गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्रको प्रधान कार्यालयले आइतबार एक जना एसपी, एक जना डिएसपी, ७ जना इन्सपेक्टर, ६ सई र १ असई गरी १६ जनाको जिम्मेवारी खोसेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीलाई पठाइएको छ।
यसैगरी बाराको बोर्डर आउटपोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैयाका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवाका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो।
यस्तै पर्सास्थित बोर्डर आउटपोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानियाँ क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवालबाटा, सुरक्षा बेस बहुअर्वाभाठ्टाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ।