स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको थियो । यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमा धेरैको अवस्था गम्भीर रहेको छ ।
आगलागी स्थानीय समयअनुसार बिहीबार बिहान करिब १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा भएको थियो ।नयाँ वर्ष २०२६ को स्वागतमा झुमिरहेका युवा र पर्यटकहरूको भिडले भरिएको बारमा अचानक आगो लाग्दा भागदौड मच्चिएको थियो ।
घटना लगत्तै भालिस क्षेत्रको प्रशासनले व्यापक उद्धार कार्य सुरु गरेको थियो । घाइतेहरूलाई अस्पताल पुर्याउन १३ वटा हेलिकप्टर र ४२ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । उद्धार कार्यमा १५० भन्दा बढी आपतकालीन स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरू खटिएका थिए ।
वालिस क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार हालसम्म करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको पुष्टि भएको छ । इटालीका स्विट्जरल्यान्डस्थित राजदूतले मृतक सङ्ख्या ४७ पुगेको बताउनुभएको छ, तर स्विस प्रहरीले अन्तिम सङ्ख्या अझै पुष्टि गर्न बाँकी रहेको बताएको छ ।
स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको अत्यन्तै दुःखद र गम्भीर त्रासदी भनेका छन् । उनले पाँच दिनसम्म राष्ट्रिय झण्डा अर्धझुकाइने घोषणा गरेका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार आगलागी कुनै आक्रमणका कारण नभएको प्रहरीले बताएको छ । केही साक्षीका अनुसार शैम्पेनका बोतलमा प्रयोग गरिएका स्पार्कलर छत नजिक पुगेपछि आगो सल्किएको हुनसक्ने जनाएका छन् ।