झापा ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका काठमाडौं महानगरका मेयर बालेन्द्र साहले काठमाडौंको क्षेत्र नम्बर २ पनि होल्ड गर्नु भएको छ । यसअघि रास्वपाकी सोविता गौतमले चुनाव जितेको यो क्षेत्रमा बालेनले आफू निकट उम्मेदवारका लागि सुरक्षित राखेको चर्चा छ ।
अघिल्लो आमनिर्वाचनमा भर्खर स्थापना भएको रास्वपाले पूर्णतया अपरिचित सोवितालाई काठमाडौं २ मा उम्मेदवार बनाएको थियो । त्यसबेला उनी मात्र २७ वर्षकी थिइन् । कानूनकी विद्यार्थी सोविताले चाँडै नै आफूलाई अब्बल उम्मेदवारका रूपमा उभ्याउन सफल भइन् र निर्वाचनमा सनसनीपूर्ण जित निकाल्नु भयो । उहाँले १५ हजार २२९ मतले चुनाव जित्दा एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मतका साथ दोस्रो हुनु भएको थियो ।
चुनावमा विजयपश्चात् पनि सोविताले आफ्नो छविमा आँच आउन दिनु भएन । संसदभित्र र बाहिर पनि निकै प्रभावशाली भूमिका निभाउँदै आउनु भयो । यो तीन वर्षमा उहाँले एक बौद्धिक र तार्किक नेतृको पहिचान बनाउन सफल हुनु भएको छ । रास्वपाका प्रभावशाली नेतृहरूको सूचीमा उहाँ अग्रपंतिमा आउनु हुन्छ।
आउँदो चुनावमा पनि काठमाडौं २ मै उम्मेदवारीका लागि इच्छुक हुनुहुन्थ्यो सोविता । रास्वपाले पनि उहाँलाई यही क्षेत्रबाट दोहोर्याउने तयारी गरेको थियो । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग ‘एकता’ पश्चात् ट्विस्ट आएको छ । बालेनले काठमाडौं २ लाई आफ्नो कोटामा राख्न चाहनु भयो ।
त्यसो त एमाले अध्यक्ष केपी ओलीसँग भिड्ने योजनामा बालेन सुरुदेखि नै हुनुहुन्थ्यो । यद्यपि, काठमाडौं २ लाई पनि उहाँले विकल्पमा राख्नु भएको थियो । निश्चल बस्नेतको टिमलाई उहाँले झापा ५ मा सर्भे गर्न पठाउनु भयो । चुनाव जितिने रिपोर्ट आएपछि उहाँ सो क्षेत्रमा लड्न तयार हुनु भएको छ । तर, काठमाडौं २ उहाँले खाली गरिदिनु भएको छैन ।
बालेनले कसका लागि काठमाडौं २ होल्ड हुन् गर्नु भएको हो भन्ने स्पष्ट भएको छैन । काठमाडौं महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले आजै पदबाट राजीनामा दिनु भयो । उहाँ पनि चुनाव लड्ने तयारीमा ह्नुहुन्छ । कतै बालेनले पाण्डेकै लागि यो क्षेत्र होल्ड गर्नु भएको त होइन भन्ने पनि आशंका गरिएको छ । त्यसो त काठमाडौंमा उठ्न चाहेका बालेननिकट अरू पनि उम्मेदवार हुनुहुन्छ ।
काठमाडौं २ नपाएपछि सोविताको रोजाइमा चितवन ३ परेको छ । चितवन उहाँको गृहनगर हो । दोलखा माइतीघर भएकी सोविताले चितवनका गृहेन्द्र घिमिरेसँग विवाह गर्नु भएको थियो । गृहेन्द्र भने माओवादीनिकट हुनुहुन्छ। सकेसम्म रेनुको क्षेत्रमा सोविताले उम्मेदवारी दिन नपरोस् भन्ने उहाँको चाहना थियो । तर, यो भिडन्त अब टर्न कठिन देखिन्छ ।
चितवनमा सोविताको चुनावी अभियान सुरु भइसकेको छ । केही दिनदेखि उहाँ सोही क्षेत्रमा केन्द्रित हुनुहुन्छ । रास्वपा सभापति रवि लामिछाने पनि चितवनकै क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिइरहेकाले यस जिल्लामा रास्वपाको माहोल गर्माएको छ ।
प्रचण्डपुत्री रेनुले भने भरतपुरको मेयरबाट राजीनामा दिएर संसदीय चुनावमा भाग लिन लाग्नु भएको हो । उहाँको कार्यकाल अझै डेढ वर्ष बाँकी छ । दुईपटक मेयर हुँदा आफ्नो क्षेत्रमा राम्रै बजेट लगेकी रेनु पनि लोकप्रिय नै रहेको हुँदा यो प्रतिस्पर्धा पेचिलो हुने देखिन्छ ।
उहाँहरु मात्र होइन, यही क्षेत्रमा अर्का हेभिवेट उम्मेदवार पनि हुनुहुन्छ , राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे । उहाँ यही क्षेत्रका निवर्तमान सांसद पनि हुनुहुन्छ । अघिल्लो निर्वाचनमा फराकिलो अन्तरले जितेका पाण्डेलाई यसपटक पनि कम आँक्न मिल्दै न । त्यस हिसाबले चितवन ३ को प्रतिस्पर्धा निकै रोचक हुनेवाला छ ।