नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार सम्पन्न भएको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले चारवटा प्रमुख निर्णयहरू पारित गरेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय:
१. भदौ २३ र २४ गतेको जेन–जी, अहिलेसम्म भएका आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने ।
२. सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त गर्ने ।
३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने ।
४. जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने ।
यसका साथै, गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायसम्बन्धी विषयमा विशेषगरी सुरक्षा निकायका हकमा थप अध्ययन गर्न समिति गठन गरिने र उक्त समितिको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उल्लेख गरिएको छ।