मंसिर ११ गते २०८३ || November 26, 2026

कांग्रेस संसदीय दलको नेता आजै टुंग्याउने प्रयास, सहमति नभए भोलि निर्वाचन


आइतबार, वैशाख १३ २०८३१२:५१

कांग्रेस संसदीय दलको नेता आजै टुंग्याउने प्रयास, सहमति नभए भोलि निर्वाचन

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया आज (वैशाख १३) टुंग्याउने तयारी गरेको छ। सहमति जुट्न नसके भोलि निर्वाचनमार्फत नेतृत्व चयन गरिने जनाइएको छ।

शुक्रबार (वैशाख ११) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सर्वसम्मतिबाट नेता चयन गर्ने प्रयासस्वरूप कार्यदल गठन गरेको थियो। उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित उक्त कार्यदलमा अर्का उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहेका छन्। कार्यदललाई ७२ घण्टाको समय दिइएको छ।

महामन्त्री पौडेलका अनुसार कार्यदलले सहमति जुटाउने प्रयास तीव्र बनाएको छ। “हामी आजै टुंगो लगाउने प्रयासमा छौँ। यदि सहमति जुटेन भने भोलि निर्वाचन हुनेछ,” उनले बताए।

यसअघि तय गरिएको निर्वाचन कार्यतालिका स्थगन गर्दै सहमतिको सम्भावना खोज्न कार्यदल गठन गरिएको थियो।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निश्कल राई आकांक्षी छन्। उम्मेदवारमध्ये सांसद बासना थापाले अहिलेसम्म कोही पनि पछि नहटेको जानकारी दिइन्।

उनले भनिन्, “हामी सबैले उम्मेदवारीमा दृढता राखेका छौँ। कार्यदलले सहमतिको प्रयास गरिरहेको छ र आज बेलुकासम्म टुंगो लाग्ने अपेक्षा गरिएको छ।”

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये नेपाली कांग्रेसले मात्र हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend