काठमाडौं । विधिको शासन, संविधानको संरक्षण र स्वतन्त्र न्यायपालिकाको महत्वबारे जोड दिँदै पूर्व न्यायाधीशहरूले न्यायालयको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका छन् । कानून दिवस २०८३ को अवसरमा आयोजित छलफल कार्यक्रममा उनीहरूले लोकतन्त्रको आधार नै संविधान र विधिको शासन भएको उल्लेख गरेका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरूले संविधान केवल कानुनी दस्तावेज मात्र नभई राजनीतिक र सामाजिक सहमतिसमेत भएको बताए । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतसँग भएकाले संवैधानिक विवादमा अदालत पछि हट्न नहुने धारणा राखिएको थियो । छलफलमा संविधानको धारा ६१(४) अन्तर्गत राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने दायित्वबारे पनि चर्चा गरिएको थियो ।
संवैधानिक निकाय तथा पदाधिकारीहरूले आफ्नो अधिकार र सीमाभित्र रहेर काम गर्नुपर्ने उल्लेख गर्दै सीमाभन्दा बाहिरका गतिविधिले संवैधानिक संकट निम्त्याउन सक्ने चेतावनी दिइएको थियो । पूर्व न्यायाधीशहरूले राज्यका सबै अंग र पदाधिकारीका काम–कारबाही कानूनसम्मत हुनुपर्नेमा जोड दिएका छन् । “कानूनभन्दा माथि कोही हुँदैन” भन्ने मान्यता व्यवहारमा लागू हुनुपर्ने उनीहरूको भनाइ थियो । कुनै पनि निर्णय वा गतिविधि विधिसम्मत प्रक्रियाबाट नभए त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने निष्कर्ष कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
त्यसैगरी लोकतान्त्रिक मूल्य, संविधानवाद र विधिको शासनको दृष्टिले राज्यका सम्पूर्ण गतिविधि संविधानको दायराभित्र सञ्चालन हुनुपर्ने उल्लेख गरिएको छ । राजनीतिक गतिविधिसमेत संविधानले तय गरेको सीमाभित्र रहेर सञ्चालन हुनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । कार्यक्रममा न्यायपालिकाले निष्पक्ष, स्वतन्त्र र सक्षम रूपमा काम गरे मात्र नागरिकका मौलिक हक प्रभावकारी रूपमा संरक्षण हुन सक्ने धारणा व्यक्त गरिएको थियो । साथै संवैधानिक विवादको शीघ्र र निष्पक्ष निरूपण सर्वोच्च अदालतको प्रमुख दायित्व भएको उल्लेख गर्दै न्यायपालिकाको सक्षमता र विश्वसनीयता कायम राख्न आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।


