लमजुङ - मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएको छ । उनले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी भएको हो । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका हुन्।
अध्यक्षमै उम्मेदवारी दिएका स्वतन्त्रका मिङमार सोनाम लामाले भने उम्मेदवारी फिर्ता लिएका थिए। कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । यसअघि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेङमरको एकल उम्मेदवारी परेको थियो । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।
नार्पाभूमि गाउँपालिका वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेको छ । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका थिए। वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मत ल्याएर बिजयी भएका छन् ।