मंसिर ११ गते २०८३ || November 26, 2026

जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस : राष्ट्रपति रामचन्द्र पौडेल


बिहीबार , कात्तिक १ २०८१०२:४३

जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस : राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा उहाँले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको हामीले सुन्दै आएका बताउँदै आज आफूले यस पूण्य भूमिमा उभिएर सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताउनुभयो ।

“जब मैले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा देखे मलाई म स्वर्गमा आएको महशुस भएको छ, मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु । नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु,” उहाँले भन्नुभयो, “मलाई बाजुरावासी स्वर्गका वासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौ भन्ने तपाईहरुलाई लाग्ला, अब तपाईहरुले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुनेछ ।”

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताउनुभयो ।

“बाजुरामा ऐतिहासिक, धार्मिक, साँंस्कृतिक तथा प्राकृतिक धरोहरहरू हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

त्रिवेणीमा अवस्थित बडीमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडीमालिकाको दर्शन र नाटेश्वरी देवीको दर्शन गर्न पाएकोमा उहाँले खुशी प्रकट गर्नुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend