नारायणहिटीबाट बिदा भइसकेको राजतन्त्रलाई फेरि फर्काउने भनेर वर्तमान व्यवस्था विरोधीहरूको समूहले मोर्चा बनाउँदा दुई राजावादी हस्तीलाई बाइपास गरिएको खुलासा भएको छ ।
पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बाइपास गरिएको पाइएको हो । दुवै नेताहरूले आफूहरूसँग कुनै छलफल बिना नै समिति मातहतको निर्देशक समितिमा नाम राखिएको बताए ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि आफूहरूसँग यसबारे कुनै सल्लाह नभएको बताए । सल्लाह बिनै बनेको समितिमा कमल थापाको नाम रहेको उल्लेख गर्दै उनले मंगलबार पार्टीको बैठक बोलाइएको र यसबारे आवश्यक निर्णय हुने बताए।