मंसिर १२ गते २०८३ || November 27, 2026

मध्यपुर थिमीमा पुसमा ‘खेलकुद महोत्सव–२०८३’ हुने, मेयर कप फुटबलको विजेतालाई १० लाख २५ हजार ।


शुक्रबार, मंसिर १२ २०८३०५:४९

मध्यपुर थिमीमा पुसमा ‘खेलकुद महोत्सव–२०८३’ हुने, मेयर कप फुटबलको विजेतालाई १० लाख २५ हजार ।
भक्तपुर , ११ मंसिर २०८३ ।
 
खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने उद्देश्यले मध्यपुर थिमी नगरपालिकाले आगामी पुस महिनामा ‘मध्यपुर थिमी खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिकाले महोत्सवबारे औपचारिक जानकारी गराएको हो। स्थानीय स्तरमा रहेका खेल प्रतिभाको खोजी, विकास तथा प्रवर्द्धन गर्दै खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महोत्सवले भूमिका खेल्ने नगरपालिकाले जनाएको छ। साथै, खेलकुद र पर्यटनलाई जोडेर मध्यपुर थिमीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन समेत टेवा पुग्ने अपेक्षा लिइएको छ।

 

मेयर कप फुटबल पुस ११ देखि, पुरस्कार राशि १० लाख २५ हजार

महोत्सवअन्तर्गत आगामी पुस ११ गतेदेखि वाग्मती प्रदेशस्तरीय अन्तरनगरपालिका मेयर कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने तय भएको छ।

 

प्रतियोगिताको विजेता टोलीले १० लाख २५ हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, ‘फेयर प्ले’ अवार्ड जित्ने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाले जानकारी दिएको छ।

 

महोत्सवमा समावेश अन्य खेलहरू

महोत्सवमा फुटबलसँगै विभिन्न विधाका प्रतियोगिताहरू समेत समावेश गरिएका छन्। जसअन्तर्गत:

 

  • राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता

  • उपत्यकाव्यापी भलिबल प्रतियोगिता

  • मार्सल आर्ट्स (कराते, तेक्वान्दो, उसु, बक्सिङ) प्रतियोगिता

  • टेबलटेनिस, फुटसल, ब्याडमिन्टन र बास्केटबल

  • हाफ म्याराथन लगायतका खेलहरू

यी प्रतियोगिताहरूले खेलकुदमा रुचि राख्ने बालबालिका तथा युवाहरूको सीप र क्षमतालाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्न सहयोग पुग्ने नगरपालिकाले विश्वास व्यक्त गरेको छ। नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले युवाहरूलाई सिर्जनशील र सक्रिय बनाउन नगरपालिकाले खेलकुद महोत्सव आयोजना गर्न लागेको बताउनुभयो।
 
 
Mayor Photo-1.JPG




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend